२६ हजार विद्यार्थीले कक्षा ११ पढ्न नपाउने
राष्ट्रिय परीक्षा बोर्डले गत सोमबार नतिजा सार्वजनिक गरेका ४ लाख ७२ हजार ७२ विद्यार्थी मध्ये हजारौं विद्यार्थीले कक्षा ११ मा पढ्न नपाउने भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा २८ साउनमा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले एसईईमा अंग्रेजी, गणित र विज्ञानमा ‘डी प्लस’ नल्याउने विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न नदिने निर्णय गरेको हो ।
परिषद्को निर्णय अनुसार एसईईमा तीन विषयमा ‘डी प्लस’ ल्याएर मात्रै पनि पुग्दैन । जीपीए पनि १.६ ल्याउनै पर्दछ । यो वर्ष यी दुबै मापदण्ड पुरा नगर्ने विद्यार्थी करिब २६ हजार छन् ।
कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित पढ्नका लागि भने जीपीए १.६ सँगै अंग्रेजी, गणित र विज्ञानमा ‘सी प्लस’ ल्याउनुपर्छ ।
२०७२ सालमा ग्रेडिङ प्रणालीमा गएपछि कुनै पनि विद्यार्थीको लब्धांकपत्रमा ‘अनुत्तीर्ण’ लेखिदैन । ९९ वटा प्राविधिक विद्यालयले भने २०७१ सालदेखि नै एसईईका विद्यार्थीका लब्धांकपत्रमा अनुत्तीर्ण लेख्न छोडेको थियो ।
एसईई उत्तीर्णको घरमा अविरजात्रा र अनुत्तीर्णको घरमा मलामी जाने अवस्था आउन नदिन अनुत्तीर्ण नलेख्ने ग्रेडीङ प्रणाली अपनाइएको थियो । तर परिषद्ले न्यूनतम मापदण्ड तोकेपछि भने कम जीपीए पाउने विद्यार्थी कक्षा ११ पढ्न नपाउने भएका छन् ।
विद्यालयले नै मूल्यांकन गरेर पठाएकाले परीक्षा बोर्डले यो वर्ष पुनर्योग तथा ग्रेडबृद्धि परीक्षा सञ्चालन नगर्ने घोषणा गरिसकेको छ ।